डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले पदबाट राजीनामा दिने भएका छन्।
सर्वोच्च अदालतले नियुक्ति खारेजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंह कामकाजका लागि अस्पतालमा उपस्थित भएका थिए। केहि दिन अगाडि मात्रै उनी तेस्रो कार्यकालका लागि अस्पतालमा पुगेर पदभार सम्हालेका थिए।
तर, अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा गर्न लागेको सिंहले बताएका छन्। ‘जहाँ काम गर्ने वातावरण नै छैन त्यहाँ बस्न उचित लागेन। जनताले भरोसा गरेपनि विभिन्न व्यक्तिले तनाव दिएका कारण राजीनामा गर्दैछु। अहिले नै स्वास्थ्य मन्त्रालयमा राजीनामा पठाउदैछु ‘ उनले भने।
पदभार ग्रहण गरिसकेका अध्यक्ष सिंह अदालतको अन्तरिम आदेशपछि सोमबार अस्पतालमा पुगेका थिए। उनले जहाँबाट भए पनि दरबन्दीअनुसार चिकित्सक ल्याउने दाबी गरेका थिए।
वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो। तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए।
तर, सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा दिएको थियो। सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
तर, अहिले उनले आफ्नो नक्कली सर्टिफिकेट पेश गरेको चर्चा चलेको छ। उनीविरुद्ध उजुरीसमेत दर्ता भएको स्रोत बताउँछ।