काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेलाई एक्लै हराउन नसकिने डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको आरोप लगाएका छन् ।
बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले सो आरोप लगाएका हुन् ।
एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए ।
एमालेले एक्लै चुनावमा जाने बताए पनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनको भनाइ छ ।
उनले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताएका छन् । बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी समेत दिएका छन् ।
‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनको टिप्पणी छ ।