डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको लागि करिब १० लाख बराबरका स्वास्थ्य सामग्री आएको छ। गाउँपालिकाका सबै वडाका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर र ५ वटा अक्सिमिटर स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको हो।
ती सामग्री गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीले बुझेका छन्। उनले ती सामग्रीका लागि विभागमा माग गरेको बताए।
यसअघि पनि उनले प्रदेश आपूर्ति केन्द्र, सुदूरपश्चिमबाट पनि विभिन्न स्वास्थ्य सामग्री ल्याउन सफल भएका थिए। त्यहाँबाट करिब १२ लाख बराबरका अल्ट्रासाउन्ड, डेलिभरी बेड, सक्सन मेशेन, बेबी वार्मर सक्सन सेट लयायतका स्वास्थ्य सामग्री प्राप्त गरेको भण्डारीले बताए।
यस्तै उनले आँखा अस्पताल डडेलधुरा र वडा कार्यलयको सहकार्यमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेका थिए। जसबाट १७८ जानाले सेवा लिएका थिए भने १२ जनाको निशुल्क शल्यक्रिया गरिएको थियो।
यस्तै वडाअध्यक्ष हरि भण्डारीकै पहल तथा स्वास्थ्य कार्यालय डडेल्धुराको सहयोगमा नि:शुल्क पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको थियो। जहाँ ५ जनाको नि:शुल्क पाठेघरको शल्यक्रिया भएको थियो।
यति मात्र हैन नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएको पहिलो वर्षमै उनले पहल चाल्दा एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको थियो।
यसैगरि यसै वर्ष पालिकाका नाङ्गा डाडामा करिब २ हजार ६ सय बिरुवा रोपिएको उनले बताए। भण्डारीले वन तथा भू-संरक्षण विभागको सहयोगमा करिब २० लाख बराबरको अर्को कार्यक्रम ल्याउने प्रयास गरिरहेको बताए। उक्त कार्यक्रम अन्तर्गत तारबारसहित अर्को ठूलो वृक्षारोपण गर्ने तयारी रहेको भण्डारीले जानकारी दिए।
यसैगरी वडाअध्यक्ष प्राविधिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत वर्षमा १ जना विपन्न विद्यार्थीमाथि १ लाख खर्च गर्ने योजना राखेको उनले बताए। वडाअध्यक्ष हरि भण्डारीका अनुसार अहिले वडामै सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ।
यसरी निर्वाचित भएको पहिलो वर्षमै उनको काम देखेर अजयमेरु गाउँपालिकावासीले उनको वाहवाही गरिरहेका छन्। सोही गाउँपालिकाका लक्ष्मण पनेरु भन्छन्, ‘उनले गरेका यस्ता गतिविधि देख्दा अजयमेरुले एउटा असल जनप्रतिनिधि पाएकाे महसुस भएकाे छ। जनताकाे पक्षमा यसरी नै रातदिन दाैडधुप गरेर लागिरहने जनप्रिय नेतालाई अजयमेरुवासीको सधै साथ हुनेछ।’
यस्तै सुनिल ठकुराठीले भण्डारी वडा नम्बर ६ को मात्रै नभएर पूरै ६ वडाका अध्यक्ष भएको बताएका छन्। ‘उहाँले अजयमेरु गाउँपालिकाका १ देखि ६ नम्बर सम्मका अध्यक्षको जिम्मवारी निर्वाह गरेको देख्दा सारै खुसी लाग्छ। जनताको पक्षमा काम गर्ने व्यक्तिलाई हाम्रो पूर्ण साथसहयोग हुनेछ’ उनी भन्छन्।
यसैगरी अहिले सामाजिक सञ्जालमा ३१ वर्षीय वडाअध्यक्ष भण्डारीको तारिफ भइरहेको छ।