धनगढी: एमालेका नेता भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा मुख खोलेका छन्।
उनले आइतबार सामाजिक संजालमार्फत सरकारले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको? जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। उक्त मागका लागि कैलालीमा १० दिनदेखि आन्दोलन भइरहेको छ।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।
गेटामा ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ। तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ। यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ।