कैलाली: नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ।
तीन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ। पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ।
जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाउँपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताए।
त्यसैगरी जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।
तीन वटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।