काठमाडौं : सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा ४४ शव बेवारिस अवस्थामा फेला परेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि ०७९/८० को वैशाख मसान्तसम्ममा ४४ बेवारिस शव फेला परेका पाइएको हो।
जसमा सबैभन्दा बढी कैलालीमा २० बेवारिस शव फेला परेका छन्। त्यस्तै, कञ्चनपुरमा १६, बैतडीमा ४ र दार्चुलामा ३ शव फेला परेका छन् । सबैभन्दा कम डोटीमा एक शव मात्र फेला परेको छ।
यो अवधिमा प्रदेशका चार जिल्लामा भने एउटा पनि शव बेवारिस अवस्थामा फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। डडेल्धुरा, अछाम, बझाङ र बाजुरामा भने तीन वर्षको अवधिमा एक पनि बेवारिस शव फेला नपरेको हो।
आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा ४/४ र दार्चुलामा ३ गरी ११ बेवारिस शव फेला परेका छन् । अन्य ६ जिल्लामा भने एक पनि बेवारिस शव भेटिएको छैन।
त्यस्तै, ०७८/७९ मा कैलालीमा ९, कञ्चनपुरमा १२, बैतडी र डोटीमा १/१ शव गरी २३ फेला परेका छन्। अन्य ५ जिल्लामा भने एक पनि शव फेला परेको छैन। त्यसैगरी ०७९/८० मा कैलालीमा ७ र बैतडीमा ३ गरी १० शव फेला परेका छन्। अन्य ७ जिल्लामा भने एक शव पनि बेवारिस फेला परेको छैन।
प्रहरीले कसरी गर्छ व्यवस्थापन ?
यसरी बेवारिस अवस्थामा फेला परेका शवलाई प्रक्रिया अनुसार प्रहरीले व्यवस्थापन गर्ने गर्दछ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार शव फेला परेको एक हप्तादेखि १५ दिन जति राखेर पहिचान खुलाउने प्रयास गरिन्छ।
सो अवधिसम्म पनि मृतकका आफन्त कोही सम्पर्कमा नआए शव भेटिएको स्थानीय तहको रोहबरमा शवलाई जलाउने गरिएको उनले बताए। मृतकको पहिचानका लागि फोटो, कपडा, जुत्ता, नागरिकता अर्थात मृतकको साथमा जे भेटिन्छ त्योे राख्ने गरेको प्रवक्ता बोहराले बताए।
‘मृतकको पहिचान खुलाउन मद्दत पुग्ने डिएनए टेस्ट गर्न हड्डी राख्ने, औँठा छाप, फोटो राख्ने, उसको साथमा भेटिएका पहिचान खुल्न सक्ने सामान राख्ने गरिन्छ,’ उनले भने, ‘मृतकका कोही आफन्त सम्पर्कमा आए उनीहरुको पहिचानका लागि सहयोग पुग्ने हुँदा यस्ता पहिचान खुल्ने खालका सामान राख्ने गरिएको छ।’
केही मृतकका आफन्तहरु शव जलाइसकेपछि पनि सम्र्पकमा आउने भएकाले मृतकको पहिचान खुल्ने सामान राख्ने गरिएको उनको भनाइ छ।