धनगढी : गत जेठ ४ गते धनगढीमा डाक्टर मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका अर्का डाक्टरलाई कारागार चलान गरिएकाे छ।
आफ्नै घरकाे काेठामा मृत भेटिएकी धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाहकाे आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले साेमबार जिल्ला अदालतमा भएकाे थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको जानकारी दिए। साेही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धराैटी बुझाएर तारेखमा छुटेका छन्। उनी शाहका पूर्व प्रेमी हुन्।
मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मायामेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेकाे थियाे।
कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेकाे पाइएको प्रहरीले जनाएको छ। डा.भट्टराईले विवाहकाे प्रस्ताव अस्वीकार गर्दा शाहले झुन्डिएर आत्महत्या गरेकाे भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए।
न्यायधिश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई भने ५० हजार धरौटी लिएर छोड्ने आदेश दिइएको हो।