धनगढी: सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो।
सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो। चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान नौ अर्ब ७५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने नौ अर्ब ६० करोड ५१ लाख र सङ्घीय रोयल्टी बाँडफाँटबाट चार करोड ७३ लाख बजेट दिएको छ।
आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट दिएको छ। प्रदेश सरकारको बजेटको प्रमुख स्रोत सङ्घ सरकारले दिने बजेट हो। अर्को आम्दानीको स्रोत राजस्व सङ्कलन भए पनि यस प्रदेशमा उठ्ने राजस्व निकै न्यून रहेको छ।