झापा: झापाको मेचीनगर सीमाक्षेत्रमा भएको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीबीचको झडप घटनाबारे सशस्त्र प्रहरी बल मुख्यालयले छानबिन समिति बनाएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको अध्यक्षतामा मुख्यालयले छानबिन समिति बनाएको हो ।
झापा मेचीनगर-४ स्थित नेपाल भारत सीमा नकलबन्दामा मंगलवार राति ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीलाई सादा पोशाकमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीले कुटपिट गरेको थियो । सो घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बनको प्रक्रिया अघि बढाइएको मुख्यालयले जनाएको छ ।
राई नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोशाकमा खटिएको खुलेको छ । राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका थिए ।
उनीहरूको कुटपिटबाट सशस्त्र प्रहरी बल नकलबन्दा बीओपीका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सहायक हवल्दार शान्तबहादुर राई, हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र जवान उमेश राजवंशी घाइते भएका थिए । निरीक्षक राईको टोलीले उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए ।