डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने तयारी गरेको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्।
यहि बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले बजेटपछि सुदूरपश्चिम सरकार ढल्ने संकेत गरेका छन्। नेकपा माओवादी सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह मालले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारले एकल निर्णय गरेको आरोप लगाएका छन्। उनले सरकारले ल्याउन लागेको बजेटमा आफूहरु सन्तुष्ट नभएको प्रष्ट पारेका हुन्। सोही कारण बजेटपछि सुदूरपश्चिम सरकारको आयु घट्ने संकेत उनले गरेका छन्।
आज बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको आज प्रस्तुत हुने आर्थिक वर्ष २०८९/८१ को बजेट निर्माणदेखि लिएर विभिन्न कुराहरुमा एकल सरकारको जस्तो झल्को महशुस। अब सत्ता साझेदार दलहरुकै लागि नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाउको अनुहार जस्तै हुने निश्चित छ। बजेटपछिको अवस्थामा प्रदेश सरकारमा तलमाथि भए आश्चर्य मान्नु पर्ने छैन।’