कैलाली: कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् ।
समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ ।
‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक–डेढ महिना भइसकेको छ,’ चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’
यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन्।
भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन् । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनी पानीको पर्खाइमा छन् ।
‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन,’ चौधरीले भने, ‘यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।’
गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन् । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउँछन् ।
‘सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ,’ लक्ष्मण भन्छन्, ‘गाउँमा हामी सबै किसान छौं । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।’
भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्त्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्त्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन । चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ । कैयौं वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ ।
‘सिँचाइको समस्या छ । बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन,’ स्थानीय कलशराम डङ्गौरा भन्छन्, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।’
वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पुर्याएको छ । किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउँछन् । ‘पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ,’ उनले भने, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।’
भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । वर्षातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइँनभ्याइँ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले २ पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपुर्याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ । – झलनाथ खनाल/रासस