कञ्चनपुर: नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने कञ्चनपुरका एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनार पक्राउ परेका हुन् ।
किशोरीले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको फेसबुकमार्फत उनीहरु नजिकिएका बताइएको छ । कुराकानीकै क्रममा विनोदले गोप्य अंग देखाई भिडिओ कल गर्न लगाउने र त्यसो नगरे धम्क्याउने गरेको भन्दै पीडितले उजुरी दिएकी थिइन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।
‘सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।