काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडाैंले शुक्रबार थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएकाे हाे ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेकाे हाे । याे प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई अभियुक्त बनाई विभिन्न चार कसुरमा मुद्दा दर्ता गरेकाे थियाे । तीमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक राईलाई भने अदालतले धराैटीमा छाड्ने आदेश दिएकाे छ । महर्जनसँग ५ लाख र राईसँग १० लाख धराैटी माग भएकाे छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका पीए नरेन्द्र केसी, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमसेर मिया, गिरोहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरीलगायत १६ जना थुनामा बस्ने भएका हुन् ।