धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा २ महिने शिशुको निधन भएको छ। अस्ति बिहीबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का २ महिने शिशु बसन्त धामीको सेतीमा देहान्त भएको हो।
उनका बुबा हरिश धामीका अनुसार उनको अस्पताल र डाक्टरका लापरबाहीका कारण ज्यान गएको हो। हाल वैदेशिक रोजगारीको सिलसिलामा कुबेत भन्ने देशमा रहेका धामीले आफ्नो छोराको डाक्टर र अस्पतालको लापरबाहीकै कारण ज्यान गएको आरोप लगाए।
उनका अनुसार करिब १० दिनअघि बसन्तलाई आफन्तले सामान्य खोकी लागेको भन्दै सेती अस्पतालमा जचाँउन ल्याएका थिए। खोकी लागेको २ दिनमै बसन्तलाई धनगढी ल्याएर सेतीमा भर्ना गरिएको थियो।
त्यसपछि अस्पतालले ८ दिनसम्म सामान्य वार्डमा राखेर उपचार सेवा प्रदान गरेको थियो। त्यतिन्जेल अवस्था सामान्य नै थियो। तर नवौं दिनमा निमोनिया भएको र निमोनिया झन बल्झिएको भन्दै अस्पतालले बसन्तलाई आइसियुमा राख्न लगायो। उनलाई आइसियुमा राखेर उपचार सुरु त गरियो। तर, उपचार असफल बन्यो। उनको केही समयमै निधन भयो। सामान्य निमोनिया भएर अस्पताल ल्याइएको शिशुको अचानक मृत्युु हुनुले डाक्टरको लापरबाही र अस्पतालको विश्वसनीयतामाथि प्रश्नसमेत उठेको छ। यता अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले भने घटनाको विस्तृत कुरा थाहा नभएको र भोलि डाक्टरलाई बुझेर मात्र थप कुरा भन्न सकिने बताए।
मृतकका आफन्तले अस्पताललाई अन्तै रेफर गर्न आग्रह गरेको भएपनि ठिक भैहाल्छ भनेर ज्यानै लिएको आरोप लगाए। अहिले मृतककी आमा भने बोल्नै नसक्ने अवस्थामा रहेको बताइएको छ। सेतीमा प्रशासन र चिकित्सकको लापरबाहीका कारण बेलाबखत यस्ता घटना घटिरहेका कुराहरु सार्वजनिक हुन्छन्। तर यसमा सम्बन्धित निकायहरुले भने खासै चासो दिन सकेका छैनन्।