काठमाडौं: भारत सरकारले त्यहाँको बाह्य गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखमा रवी सिन्हालाई नियुक्त गरेको छ। भारतको बिहार राज्यका स्थायी बासिन्दा सिन्हा नेपाल मामिलाका जानकार हुन्।
भारत सरकार कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण विभाग, कर्मचारी तथा तालिम मन्त्रालयको मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार भारतीय प्रहरी सेवा (आइपीएस) मा १९८८ ब्याचका उत्कृष्ट अधिकृत सिन्हालाई प्रमुख गुप्तचर एजेन्सीको जिम्मेवारी दिएको हो। सिन्हा अन्तर्राष्ट्रिय मामिला र आन्तरिक आतंकवादविरुद्ध सशक्त कारबाहीका लागि कहलिएका सुरक्षा अधिकारी हुन्।
उनी भारतको जम्मु–कश्मिर, उत्तर पूर्वी राज्यहरु र चरम वामपन्थी आन्दोलनका जानकार मानिन्छन्। हालका र’अ प्रमुख सामन्तकुमार गोयलले १५ असार (३० जुन, २०२३) बाट अनिवार्य अवकाश पाउने छन्। सिन्हाले १६ असार (१ जुलाई २०२३) बाट कमाण्ड सम्हाल्नेछन्।