काठमाडौं: ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
ललितपुर महानगरपालिकाको १२ नम्बर वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै ललितपुरका विभिन्न १९ वटा संघ–संस्थाहरुले सरकारी सम्पत्ति नोक्सान पुर्याउनेहरुमाथि कारबाहीको माग गर्दै आयोगमा उजुरी दर्ता गराएका हुन्।
२०७९ भदौ १ गते बुधबार भएको बैठकमा लगनखेलमा रहेको १२ नम्बर वडा कार्यालय र सँगै रहेको महानगरीय प्रहरी प्रभाग भवन खाली गराई वडा कार्यालय सहितको मत्च्छेन्द्र कम्प्लेक्स भवन निर्माण गर्ने निर्णय भएको थियो।
आईजीपी कुँवरले आफ्नो पदीय हैसियत र मर्यादा भुलेर प्रहरीको भवन भत्काउने निर्णय गर्न महानगरपालिकाको कार्यालय पुगेर हस्ताक्षर गरेका थिए।
वैशाख १९ गते प्रहरी कार्यालय सार्ने निर्णय भएको थियो। महानगरपालिकाले खोजेको भाडाको घरमा प्रहरी कार्यालय सारेर लगनखेलको प्रहरी कार्यालय भएको ठाउँमा कम्प्लेक्स बनाउन गरिएको निर्णयमा स्वयम् आईजीपी बसन्तबहादुर कुँवरले हस्ताक्षर गरेका छन्।
ललितपुर महानगरपालिकाले व्यापारी केबी महर्जनसँग मिलेर सो सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागेको हो।
स्थानीय व्यापारी केबी महर्जन कम्प्लेक्स बनाउन लागेका छन्। उनले कम्प्लेक्स बनाउने ठेक्का समेत हात पारिसकेका छन्। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसमेत यो जग्गा प्रकरणमा अख्तियारको छानबिनमा पर्ने देखिएको छ।