काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले तीन प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । त्रिविअन्तर्गत रजिष्ट्रार कार्यालय, कर्मचारी प्रशासन महाशाखाले लामो समयदेखि गैरहाजिर एक सहप्राध्यापक र दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको हो ।
महाशाखाका अनुसार २०७९ जेठ २५ गतेदेखि ३६ दिन आधा तलबी बिरामी बिदा बसेका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा.निर्मल पौडेल हालसम्म पनि हाजिर भएका छैनन् । चिकित्सकको प्रमाण पेश नगरेको र कार्यालयमा पनि अनुपस्थित रहेको भन्दै उनलाई १५ दिनभित्र चित्त बुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
‘त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ६५ बमोजिम समयपालना र नियमितताविपरीत काममा अनुपस्थित भएको र सोही नियमको ८४(१)(छ) को अभियोगमा कारबाही गर्न नियम ८२(ख)(१) अनुसार अनुपस्थित भएकै मितिदेखि तपाईंलाई सेवाबाट किन नहटाउने ?’, महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, २०७१ देखि २०७५ सम्म विद्यावारिधि अध्ययन प्रयोजनार्थ बिदामा रहेका पुल्चोक क्याम्पसका उपप्राध्यापक दिपेश लम्सालको पनि कुनै पत्तो नभएको भन्दै महाशाखाले उनलाई १५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै, २०७५ जेठ १० गतेदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित भएका भन्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गोविन्द शर्मालाई ३५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।