धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा फट्याइँ गरेको खुलेको छ। चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमा त्यस्तो फट्याइँ भेटिएको हो।
सुदूरपश्चिम सरकारले अहिले नयाँ बजेट पनि ल्याएको छ। अहिलेको बजेट पनि उत्तिकै आलोचित बनिरहेको छ। नयाँ सरकार आएपछि ल्याएको पहिलो बजेटमा प्रदेश सभा सदस्य लगायतले विरोध गरिरहेका छन्। सुदूरपश्चिममा पहिल्यैदेखि व्यक्तिगत पहुँचको आधारमा योजना छनोट तथा बजेट हालिने ट्रेन्डले सरकारको बजेट आलोचित बन्ने गरेको छ। गत आर्थिक वर्षको बजेटमा यस्तै नमूना देखिएको छ।
गत वर्ष ल्याइएको बजेटमा हाल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत कृष्णराज जोशी (पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयमा कार्यरत) को खेतमै बजेट हालिएको थियो। त्यसबेला उनले सचिवालयमा बसेको मौकामा आफ्नो खेतमा जाने बाटोमा सडकको योजना हालेको पाइएको हो। जोशीले धनगढी–१३ एकता टोलमा रहेको जग्गासम्म पक्की नाली सहितको ग्राभेल सडक निर्माणको योजनाका लागि १५ लाख बजेट हाल्न लगाएका हुन्।
ढुङ्गेवजारबाट उत्तर–पश्चिम पर्ने एकता टोलदेखि लक्ष्मीनगर जाने मुख्य सडक बनेको छैन। तर, त्यही सडकबाट खेतसम्म खोलिएको करिब एक सय मिटर सडकमा कल्भर्टसहितको पक्की नाली बनाइएको छ। यो वर्ष सडक ग्राभेल पनि गरिनेछ। एकताटोलबाट कैलाली गाउँ जाने चालीस वर्ष पुरानो सडकमा ग्राभेलसम्म छैन। व्यक्तिको जग्गामा प्लटिङ गर्न सहज होस् भनेर प्रदेश सरकारबाट योजना हालिएको पाइएको हो।
भविष्यमा प्लटिङ गर्न सहयोग पुग्ने गरि पूर्व मुख्यमन्त्री भट्टका तत्कालीन स्वकीय सचिव जोशीले खेतमा सडक बनाउन सरकारी बजेट हालेको टोलवासीको गुनासो छ। तर, त्यो ठाउँमा जग्गा आफ्नो भए पनि बजेट हाल्न भनसुन नगरेको जोशीको दाबी छ।