डडेल्धुरा: डडेल्धुराका विनयप्रकाश मल्ल १० वर्ष पहिले जापान गएका थिए। उमेरले ३७ पुगेका उनी टोकियोमा हाल व्यवसाय गरिरहेका छन्। जापनमा थुप्रै वर्ष संघर्ष गरेका मल्लले थुप्रै नेपालीहरुलाई रोजगारी समेत प्रदान गरेका छन्।
उनी हाल रेस्टुरेन्ट, मिनी सुपरमार्केट, होटल तथा कन्सन्टेन्सीका मलिक छन्। उनी यति धेरै पैसाको के गर्छन् ? वाफ रे ! यो प्रश्न जोकोहीको मनमा आउन सक्छ। तर, मल्ल आफूले कमाएको सम्पत्ति नेपालला गरिब तथा विपन्नमा खर्च गर्छन्। त्यसरी उनी आफ्नै जन्मभूमिमा रहेका गरिब तथा विपन्नको सहारा बन्छन्।
यतिबेला अमरगढी नगरपालिका–४ खलंगा निवासी समाजसेवी विनयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा धमाधम अक्षय कोष स्थापना गरिन थालिएको छ।
अमरगढी नगरपालिकाका ११ वटै वडाका सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका मल्लले आफ्नो जन्मदिनको अवशर पारेर जिल्लाका विकट ग्रामीण क्षेत्रमा रहेका थप चार सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका छन्।
जिल्लाको भित्रिमधेस क्षेत्रमा रहेको प्रशिद्ध तिर्थस्थल परशुरामधाममा अक्षय कोष स्थापना गर्न ५५ हजार पाँच सय ५५ रुपैयाँ, भागेश्वर गाउँपालिका–२ पनिउटस्थित कैलपाल माध्यमिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ, आलिताल गाउँपालिका–२ गाङ्खेतस्थित उडिकोट माध्यमिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ र नवदुर्गा गाउँपालिका–५ चामाचौडस्थित विजयाशैनी माध्यमिक विद्यालयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग मल्लले गरेका छन्।
यस्तै मल्लले विजयाशैनी माध्यमिक विद्यालयलाई अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुका साथै विद्यालयको छाना हावाहरीले उडाएकाले थप २० हजार रुपैयाँ मर्मत सम्भारका लागि सहयोग गरेको विद्यालयका शिक्षक गणेश साँउदले बताए।
गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित अशिग्राम माध्यमिक विद्यालयलाई पनि अक्षय कोष स्थापना गर्न ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने मल्लले बताए।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने कैलपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक नरबहादुर ठकुराठीले बताए। जिल्लाका सबै सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्ने लक्ष्य मल्लको ।
यति मात्रै हैन समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन्।
त्यसैले त डडेल्धुरा जिल्लामा विभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन्। देश तथा जिल्लाप्रतिको माया देखेर केही समयअघि जिल्लावासीले उनलाई जिल्लामा भव्री स्वागत गरेका थिए।
जिल्लामा हालसम्म एक करोड भन्दा बढी रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका अध्यक्ष खगेन्द्र ठकुराठीले जानकारी दिए।
समाजसेवी मल्लले जिल्लाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहेका छन्।
जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढी युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताए।
मल्लले विभिन्न मन्दिर निर्माण मर्मत सम्भार र सम्भावित पर्यटकीय स्थलहरुको विकासका लागि पनि सहयोग गरिरहेका स्थानीय अगुवा नरेन्द्रसिँह कठायतले बताए।
गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताए।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताए।
उनले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाइरहेको बताए।