काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बनेको फाइल हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयको टेबलमुनि लुकाएको आरोप लगाएका छन्। उनले विगतमा आफू मन्त्री भएका बेला छुटयाएको बजेटको फाइल लुकाइएको आरोप लगाएका हुन्।
प्रतिनिधिसभाको हिजो शुक्रबारको बैठकमा बोल्दै सांसद आलेले विगतमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला नागरिक उड्डयन प्राधिकरणबाट एक अर्ब तथा २०७८/७९ जेठ १५ गतेको बजेट मार्फत एक अर्ब ५ करोड बजेट विनियोजन गरेकोमा अहिले सम्म पनि उक्त बजेटको फाइल हालका पर्यटनमन्त्रीले लुकाएर राखेको बताए। उनले भने, ‘माननीय मन्त्री ज्युले बजेट हाल्ने त कुरै भएन, विनियोजन भएको बजेट रोक्ने अधिकार पनि छैन ।’
उनले काठमाडौँ पछिको ठूलो विमानस्थलका रुपमा रहेको धनगढी विमानस्थल जसको धावनमार्ग एक हजार ८०० मिटर रहेको र अब मात्र ७०० मिटर थप्नका लागि र क्षेत्रीय विमानस्थल बनाउनका लागि विनियोजन गरिएको उक्त बजेट अहिले सम्म पनि रोकिएको र फाइल टेबलमुनि थन्काइएको बताए। उनले भने ‘मैले हालका मन्त्रीबाट बजेटको आस गरेको छैन, तर विनियोजन भएको रकमको फाइल लुकाउन पाइँदैन।’