धनगढी: काठमाडौँ महानगरपालिकाले सुदूरपश्चिम प्रदेश हाराहारीकै बजेट पेस गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशले ल्याएको हाराहारीकै बजेट ल्याएको हो ।
आज असार १० गते आफ्नो बजेट पेस गर्दै संघीय राजधानी समेत रहेको महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट प्रदेशहरूमध्ये सबैभन्दा न्यून बजेट ल्याएको सुदूरपश्चिम प्रदेशकोभन्दा ३ अर्ब ७२ करोड मात्रै कम हो । यसअघि, असार १ गते सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड रुपैयाँको बजेट पेस गरेको थियो । उक्त मितिमा सात वटै प्रदेशहरूले आफ्नो बजेट पेस गरेका थिए । र, ७ प्रदेशमध्ये सबैभन्दा न्यून बजेट ल्याउनेको सूचीमा सुदूरपश्चिम प्रदेश थियो ।
चालू आर्थिक वर्ष २०७९/८० मा काठमाडौँ महानगरले २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि महानगरले १३ करोड बढाएर २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको हो । यस्तै, गत आर्थिक वर्षमा महानगरले १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेशहरूको बजेट सूचीमा सुदूरपश्चिमपछि कर्णाली र गण्डकीको समान ३३/३३ अर्ब, कोसीको ३६ अर्ब, लुम्बिनीको ४० अर्ब, मधेसको ४४ अर्ब र बागमती प्रदेशको ६२ अर्ब रुपैयाँ छ ।