काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी ओलीसँग निकट रहेका प्रेम राई प्रमुख आयुक्त रहेका बेला अख्तियार दुरुपयोग आयोगले ओलीकै पालामा भएको ठूलो सम्पत्ति हिनामिनाको उजुरीमाथि छानबिन अघि बढाएको छ।
राष्ट्र बैँकबाट ८० करोड रुपैयाँमा किनिएको १०३ किलो ७७३ ग्राम सुनमा करिब १० किलो हिनामिना भएको तथ्य महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरमा रहेको सुनको नापजाँच गरिरहेको छ।
नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको स्रोतले जानकारी दिएको छ। केपी ओली प्रधानमन्त्री रहेको बेला राखिएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसहित उनीहरु निकटका १३ जनाको नाम कुँदिएको पाइएको छ।
राष्ट्रबैँकबाट किनिएको १०३ किलो ७७३ ग्राम सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो। उक्त जलहरीमा करिब १० किलो सुन भने कम पाइएको महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि यसको नापजाँच सुरु भएको हो।