काठमाडौँ: सामाजिक सञ्जाल फेसुबकबाट आफूलाई विदेशी नागरिक बताई मायामा पारी रकम ठगी गर्ने चण्डिका पोखरेल पक्राउ परेकी छिन् ।
पीडितलाई विभिन्न प्रलोभनमा पारेर पार्सलका नाममा रकम ठगी गर्ने ललितपुरकी ४० वर्षीया पोखरेल पक्राउ परेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पीडितलाई आफू बेलायतको नागरिक भएको र आफ्नो नाम एलभिस मार्टिन बताएकी थिइन् ।
पीडितलाई फोटो पठाउन लगाई माया गर्छु, नेपाल आई विवाह गरी लैजान्छु भनी फसाएकी थिइन् । यसरी मायाको लोभमा ह्वाट्सएपमा पनि विदेशी नम्बरबाट नै एड गरी उपहार पठाइदिन्छु, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारेकी थिइन् ।
यसपछि आफैले नेपाली नम्बरबाट मेसेज गरेर पीडितको सामान आएको र उक्त सामान प्राप्त गर्न भन्सार रकम, डलर चार्ज लगायतका शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिको खातामा पीडितलाई पटक – पटक रकम जम्मा गर्न लगाएकी थिइन् ।यसरी पोखरेलले पीडितबाट ८ लाख ४० हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ ।
हाल पोखरेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।