धनगढीः धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी ६० वर्षीया चित्रादेवी अवस्थीमाथि कुटपिट भएको घटनामा मुद्दा दर्ता भएको छ । हिजो ‘धनगढीमा सशस्त्रले कुटे वृद्ध महिला, मुद्दा दर्तै गर्दैन कैलाली प्रहरी’ शीर्षकमा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारपछि कैलाली प्रहरीले हिजो नै मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले दुबै पक्षले जाहेरी दिएकाले दुबै पक्षकै मुद्दा दर्ता गरिएको बताए । अभद्र व्यवहारमा दुबै पक्षको मुद्दा दर्ता भई अनुसन्धान थालिएको उनले बताए ।
जग्गा सम्बन्धी विवादमा चित्रामाथि कुटपिट भएको थियो । उनका छोरा देवराज अवस्थीले आफ्नी आमामाथि कुटपिट गर्ने छिमेकी रमेश अवस्थी सशस्त्र प्रहरीका जवान पनि भएकाले आफूहरुको मुद्दा दर्ता नभइरहेको आरोप लगाएका थिए ।
गत बुधवार साँझ कुटपिट भएकोमा अहिले बल्ल मुद्दा दर्ता गरेर प्रहरीले अझै अनुसन्धान भइरहेको भनिरहेकाले आफ्नी बृद्ध आमामाथि कुटपिट हुँदा पनि आफूहरु न्याय पाउनेमा ढुक्क हुन नसकेको उनले बताए ।
‘प्रहरीले जसोतसो मुद्दा दर्ता त गर्यो तर अझ अनुसन्धान गर्ने भनिरहेका छन् । मेरी ६० वर्षकी आमामाथि कुटपिट भएको छ । शरीरमा चोट लागेको प्रष्टै देखिन्छ । म सँग पर्याप्त प्रमाणहरु पनि छन् । तर प्रहरीले भनिरहेको अनुसन्धान कस्तो हो ? हामीले न्याय पाउँछौँ कि नाइ खै,’ उनले भने ।
यता अर्को पक्षले पनि आफूहरु पीडित भएको दाबी गर्दै उजुरी दिएको जनाइएको छ ।