डडेल्धुरा: ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा सबै स्थानीय तहले बजेट ल्याइसकेका छन्। २ नगरपालिकामध्ये जिल्लाको भित्री मधेसमा रहेको परशुरामको बजेट सदरमुकाम रहेको अमरगढीभन्दा बढी रहेको छ।
भौगोलिक क्षेत्रफलले ठूलो रहेको परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८० करोड ९५ लाख १२ हजारको बजेट ल्याएको छ। सोमबार १३औँ नगरसभामा नगर उप-प्रमुख विमला कुमारी बोहरा(महता) ले राजश्व र व्ययकाे अनुमानित विवरण प्रस्तुत गरेकी हुन्।
जसमध्ये आर्थिक विकासतर्फ २ करोड ३० लाख, सामाजिक विकासतर्फ ३८ करोड ५३ लाख ६१ हजार, सामाजिक सुरक्षातर्फ १४ करोड ९३ लाख, पूर्वाधार विकासतर्फ १२ करोड १७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ९ करोड ९३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३० लाख तथा वडागत कार्यक्रम शिर्षकमा २ करोड ७७ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाको आम्दानीतर्फ आन्तरिक आयबाट २ करोड उठाउने लक्ष्य राखिएको छ।
नगरपालिकाले चालू आर्थिक वर्षमा ३६.९३ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालू वर्षका लागि नगरपालिकाले पूँजीगततर्फ २० करोड ५३ लाख ३२ हजार विनियोजन गरेकोमा जेठ मसान्तसम्म ७ करोड ५८ लाख ४९ हजार खर्च गरेको छ। चालुतर्फ भने ६२.०५ प्रतिशत बजेट खर्च भएको छ।
चालु आर्थिक वर्षमा चालुतर्फ ५४ करोड ९१ लाख ८४ हजार विनियोजन भएकोमा जेठ मसान्तसम्म ३४ करोड ७ लाख ८६ हजार खर्च गरेको छ।
यता अमरगढी नगरपालिकाले जेठ ७ गते नै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट घटाएर ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २३ लाख २३ हजारको बजेट ल्याएको हो।
नगरपालिकाले चालु आर्थिक वर्षभन्दा साढे १४ करोड घटाएको छ। अमरगढीले चालु आर्थिक वर्षका लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको थियो।
गत बिहीबार भएको १३औं नगरसभामा मेयर डिल्लीराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले कुल बजेटमध्ये चालुतर्फ ३४ करोड ३५ लाख १० हजार र पूँजीगततर्फ १४ करोड ८८ लाख १३ हजार विनियोजन गरेको छ। केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट ल्याइएको छ।