धनगढी : स्कुटर दुर्घटनामा परेर सख्त घाइते भएकी टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार बिना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्रेस चौतारीले संगठनमा आवद्ध पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिबाट स्वस्र्फूत रुपमा संकलन भएको रकम शाहीलाई हस्तान्तरण गरेको हो ।
प्रेस चौतारी कैलालीका सचिव जनक विष्टले सहयोग स्वरुप संकलन भएको २७ हजार पाँच रुपैयाँ कैलाली जिल्ला अध्यक्ष भानुभक्त आचार्यले शाहीका बुवा धिरेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरिएको बताए ।
शाहीलाई प्रेस चौतारी कैलालीका पदाधिकारी तथा सदस्य, जिल्ला शाखा डडेल्धुरा, अछाम र बाजुरामा विभिन्न जिम्मेवारीमा रहेका पत्रकार, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्य, गोरखापत्र संस्थान सुदूरपश्चिमका संयोजक प्रकाश शाह, नेपाल स्काउटका सुदूूरपश्चिम संयोजक नरेन्द्र थापा, प्रोग्रेसिप इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश इन्चार्ज पदम ओली, एकिन्द्र कुवर लगायतले स्वस्फूर्त सहयोग गरेका थिए ।
प्रेस चौतारी कैलालीले पत्रकार शाहीका लागि थालेको सहयोग रकम संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । दुर्घटनामा परेकी शाहीको बाँया खुट्टा भाँचिएको छ । उनको दुई चरणको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । पहिलो चरणको शल्यक्रिया गरिसकेको शाहीलाई अस्पतालले बेड भर्ना गरेको छ ।