छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् ।
पाँच दिने चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आज (बिहीबार) उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए । चीनले पाण्डालाई उचित महत्त्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको संख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।
यस्तै गृहमन्त्री श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गरेका छन् । चीनका साथै विभिन्न देशका उद्यमी, व्यवसायीका स्टलमा पुगेर उनले मेला अवलोकन गरेका हुन् । सो मेलामा ५६ देश तथा क्षेत्रका व्यवसायीको सहभागिता रहेको छ । आजदेखि सुरु भएको मेलामा नेपाललेसमेत सहभागिता जनाएको छ । मेला आगामी जुलाई ३ सम्म चल्नेछ ।
नेपालले सन् २०१३ देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय छेन्दु चीनकै व्यापारिक क्षेत्रका रूपमा रहँदै आएको छ । चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको छ । मेलाको उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गरेर उचित प्रतिफल लैजान आग्रह गरे ।