धनगढी: गेटामा सय बेडको अस्पताल सञ्चालन गर्ने भनेपछि आन्दोलनरत सङ्घर्षरत समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा धान रोपेको छ। धान दिवसको अवसरमा आज गेटमै धान रोपाई गरिएको हो।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत धान रोपेको हो। सरकारले चाडो भन्दा चाडो संसदमा विधेयक पास गरेर ६ सय बेड सहितको स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्नुपर्ने सङ्घर्ष समितिको माग छ।
सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। उनले एक महिनादेखि विभिन्न चरणका कार्यक्रम गर्दै आए पनि सरकारको कुनै धारणा बाहिर नआएको बताए।
सरकारले माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको थियो।। तर, पनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शय्याको अस्पताल चलाउने गरी बजेट पास भएको छ।