बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन्।
भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता भएका हुन्।
उनीहरु गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताइन्। ‘बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो। त्यो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो’ उनले भनिन्।
बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गर्दै आएका छन्।
घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारतको पौडीमा पुगेका थिए। छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बेपत्ता रावत दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको बताए।