कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ६५ जनालाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरले विगतका आयोग, समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि, २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा वितरण गरिएका हुन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरणकार्य गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । “निर्वाचनका बेला नगरवासीलाई छिट्टै जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता गरेका थियौँ”, उनले भने, “प्रतिबद्धताअनुसार केही जग्गाधनी पुर्जा वितरणको कार्य गरिएको छ ।”
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा तयार गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले राजस्व निकै बढी भएकाले पुर्जा लिन सक्ने अवस्था नरहेकाले पुनःविचार गर्न मन्त्री चौधरीलाई आग्रह गरे । जग्गाधनी पुर्जा वितरण गर्ने कार्यको सुरुआत गरिएको चर्चा गर्नु हुँदै उनले चाँडै अन्य वडामा पनि पुर्जा वितरणको कार्यलाई तीव्रता दिइने बताए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउँदा लाग्ने राजस्व बढी भएको जनगुनासो आएकाले त्यसलाई जनभावनाअनुसार घटाइने बताए । “जग्गाधनी पुर्जा उपलब्ध गराउँदा लाग्ने राजस्वबारे पुनःविचार गर्छौँ”, उनले भने, “वर्षौँदेखि जग्गाको मालिक बन्न नसकेका व्यक्तिको जग्गा नापजाँचको कार्य गरी जग्गाको मालिक बनाउँछौँ ।” रासस