काठमाडौँ – नेपाली काँग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।
नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका वेला काँग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टङ्क राई, महामन्त्रीहरू भूपेन्द्र राई र टङ्क थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमीला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए।
काँग्रेसले कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन्। ९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ।
काँग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।