हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।
गएको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् ।
माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै एउटा पसल र होटेलमा तोडफोडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो ।