जनकपुरधाम : जनकपुरधामकी एक महिलालाई आफ्नै परिवारका सदस्यले विष खुवाएर हत्या गर्ने प्रयास गरेको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक निवासी बेचन यादव र उनका परिवारका सदस्यले आफ्नी २१ वर्षीया बुहारी दुर्गादेवीलाई टिकटक बनाएको निहुँमा विष खुवाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ ।
विष सेवन गरेको भनी असार १० गते राति २ बजेतिर दुर्गाका पति रामबाबु र देवर सुनिलले सिकिस्त अवस्थामा अस्पताल पुर्याएका थिए । तर, होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छिन् ।
ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गरेको बताउँदै दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितो तरल पदार्थ जबर्जस्ती खुवाएको थियो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आफूलाई आईसीयूमा पाएँ ।’
गत वर्ष ४ वैशाख वैवाहिक बन्धनमा बाँधिएकी दुर्गाको एक चार महिने छोरा छन् । बिहे भएर आएदेखि नै ससुरा बेचन र सासू लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासूले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिँदै आएको र नदिएपछि हत्या प्रयास गर्दै आएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए । उनले दुर्गालाई जबर्जस्ती विष खुवाइएको प्रमाणित भए दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।