कैलाली: कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित सरस्वती मावि लक्कड-मनिकापुरमा प्रधानाध्यापक को बन्ने विषयमा विवाद भइरहेको छ।
विद्यालयका प्रधानाध्यापक मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भएपछि विवाद भएको हो। उनी विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवाबाट बिदा लिएका थिए। तर, जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए।
उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनुपर्ने भन्दै विवाद गरे। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौराले पनि उनीहरूकै पक्ष लिएका छन्।
त्यस्तै जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले समेत अनावश्यक हस्तक्षेप गरेको डगौराले बताए। उनले सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन दबाव दिएको बताइएको छ।
उनी भन्छन्, ‘उहाँले म विद्यालयको संरक्षक हो भन्दै धनबहादुरलाई नै प्रअ बनाउन दबाब दिइरहनु भएको छ। हिजोमात्र गाउँपालिका अध्यक्षले विश्वनाथ शाहलाई डकुमेन्टसहित बोलाउनु भएको थियो। डकुमेन्ट हेर्दै उहाँले डकुमेन्ट नै नक्कली भएको आरोप लगाउनु भयो। उहाँको मोबाइल खोस्नु भएछ र सर्टको कलर समात्नुभएछ। उहाँलाई केही समय ट्वाइलेट पनि थुन्नु भयो।’
आफूहरू शिक्षा ऐन अनुसार नै प्रअ नियुक्त हुनुपर्छ भन्नेमा प्रतिबद्ध रहेको व्यवस्थापन समिति अध्यक्ष डगौरा बताउँछन्।
उता विद्यालयबाट बिदा भएका कुस्मी भने अध्यक्षको दबावमा जोशीपुर शिक्षा शाखाले प्रअ बनाउने भन्दै धनबहादुरको नाम सिफारिस गरे पनि जिल्लाबाट उक्त निर्णय खारेज भएर आएको बताउँछन्।