डोटी: डोटीमा प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पस बन्ने भएको छ । प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसका लागि आधिकारिकता पाएसँगै सोमवार क्याम्पसको आधिकारिक कार्यालय पनि स्थापना गरिएको छ ।
हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना गरिएको हो । परियोजना संयोजक रामप्रसाद पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको हो ।
उनले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको र सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना हुन लागेको बताए । असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम खप्तड क्याम्पस स्वीकृत गरिसकेको पनि पौडेलले बताए ।
अब पूर्वाधार निर्माणको काम अघि बढ्ने बताउँदै पौडेलले हाललाई चार करोड ५० लाख बजेट विनियोजन भएको र यसले क्याम्पसको गुरुयोजना बनाउने र जग्गा सम्याउने काम हुने बताए । कक्षाकोठा, प्रयोगशाला, प्रशासनिक भवन बिस्तारै निर्माण हुने उनले बताए ।