धनगढीः यही असार ९ गते कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि मृत अवस्थामा फेला परेकी थिइन्। गोदावरी नगरपालिकास्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको थियो।
प्रहरीले अस्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको थियो। तर, आफ्नो कोठामा बोलाएर बलात्कारको मतियार बन्ने साथी लक्ष्मी भने फरार थिइन्।
आत्महत्या दुरुत्साहन मुद्दामा लक्ष्मी खडकालाई हिजो नेपालगन्जबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।
अस्मीको न्यायका लागि आफन्तले प्रदर्शन गरिरहेका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिँदै आएको हो।
नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ।
६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको परिवारको दाबी छ।