डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन ‘खर्च’ गर्नुपर्ने परिपाटी बसेको बताएका छन्।
बिहिवार जिल्ला सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभामा बोल्दै उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनु पर्ने भनेर सुनेको बताएका हुन्।
‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट गाडीमा मान्छे ओसार्ने, खाना-नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर(इसारा गर्दै) रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको विशाल जनसभामा कसैलाई केही दिएनौं, तर पनि पानीमा भिझ्दै यत्रो जनता आउनुभएको छ।’
अर्को प्रसङ्गमा बोल्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका देउवाको उनले खुलेर प्रशंसा गरेका हुन्।
लामिछानेले भने, ‘डडेल्धुराबाट मुलुकका लागि दिनुभएको योगदानका लागि म धन्यवाद दिन चाहान्छु। एउटा गरिब किसानको छोरो देशको प्रधानमन्त्री बन्नसक्छ भने हरेक चिज हुनसक्छ। तर, प्रधानमन्त्री बनिसकेपछि देशप्रति इमानदार हुनुपर्यो, निष्ठावान हुनुपर्यो। त्यसैले अब डडेल्धुराबाट बन्ने नेताले आफ्नो सम्पूर्ण जीवन परिवार हैन यो देशको माटोको लागि खर्च गर्नुपर्छ।’