काठमाडौँ: जापान बस्दै आएका कैलालीका २८ वर्षीय दीपकराज जोशी सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।
छुट्टीमा नेपाल आएका उनलाई जेठ २८ गते प्रहरीले काठमाडौँको कलङ्कीबाट नियन्त्रणमा लिएको थियो । २८ गते उनले राती ‘कलङ्की मालपोत पारी–कीर्तिपुर मित्रनगर‘ यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो। यसको निगरानी कसले गर्छ ?’ भन्दै प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसमेतलाई ट्याग गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
ड्युटीमा खटिएका वरिष्ठ सई र जवानलाई सोधपुछ गर्दा उनीहरूले राती पसलहरू बन्द गराउँदै जाने क्रममा जोशीको आफन्तको पसलमा पुगेको र त्यहाँ जोशीसँग विवाद भएको बताएका थिए । प्रहरीले तत्कालै मापसे गरिएको भनिएका प्रहरी अधिकारीको मापसे परीक्षण पनि गरेको र उनीहरूले मापसे गरेको नभेटिएपछि प्रहरीले जोशीलाई नियन्त्रणमा लिएर साइबर अपराधमा अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीसँगको बयानमा दीपकले राती ९ नबज्दै क्याफे बन्द गर भन्दै आएको र भिडियो लिन खोजेपछि हिँडेकाले शंका लागेर मापसे गरेको भनेर लेखेको उल्लेख गरेका छन् ।