काठमाडौँ: कलाकारसमेत रहेकी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। गत माघ १४ गते बुटवलमा एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले पाँच महिनामै पार्टी छाडेकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेटेपछि राजनीति त्यागेको घोषणा गरेकी हुन् ।
‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा! धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) को कामबाट प्रभावित छु। उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले भनिन्।
उनले आफूले बिहीबार मेयर साम्पाङको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको बताएकी छन्।
‘म निकै खुशी छु। सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ। श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल प्रदान गरेकी छु। यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु’, उनले भनेकी छन्।
उनले दलहरुको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्क साम्पाङको काम हेर्न पनि भनेकी छन्।
‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्’, उनले भनेकी छन्, ‘अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’
गौतम नागरिक उन्मुक्तिमा प्रवेश गरेपछि टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको पक्षमा बोलेर भाइरल भएकी थिइन्। उनले रेशमलाई नछाडे आगो बल्ने भनेपछि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्। केही समयअघि उनी कैलाली पुगेर रेशमसँगै मुसाको मासु पनि खाएकी थिइन्। पत्रकार ऋषि धमलाकी पत्नी उनले केही फिल्म पनि खेलेकी छन्।