दार्चुला: दार्चुलाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएपछि खलंगास्थित शाखा कार्यालय बन्द गरिएको छ । कार्यालयको गोदाममा चामल मौज्दात नरहेको र बिक्री कक्षमा पनि बुधवार दिउँसो चामल सकिएपछि कार्यालय बन्द गर्नुपरेको शाखाका निमित्त प्रमुख रामसागर मेहताले बताए ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीलाई वैशाखदेखि नै मौज्दात सकिन लागेको र समयमै खाद्यान्न ढुवानीका लागि ताकेता गर्दै आएको उनको भनाइ छ । चालु आर्थिक वर्षलाई प्रादेशिक कार्यालयले दार्चुलाका लागि खाद्यान्न ढुवानीको ठेक्का लगाइसकेको अवस्थामा पनि शाखा कार्यालयसम्म आवश्यक खाद्यान्न ढुवानी हुन पाएको छैन ।
प्रादेशिक कार्यालय धनगढीको गोदाममा पनि चामल मौज्दात नरहेकाले दार्चुला शाखा कार्यालयलाई यो वर्षका लागि चामल ढुवानी गर्न नसकिने प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् ।