काठमाडौं: श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील स्टाटसहरु लेखी चरित्र हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले गोरखाका ३७ वर्षीय वीरबहादुर भट्ट (नाम परिवर्तन)लाई पक्राउ गरेको हो ।
वीरबहादुरले श्रीमती कमला (नाम परिवर्तन)को नाम र तस्वीर राखेर अकाउन्ट खोलेको र ‘को छ मसँग रात बिताउने ?’ लगायत शब्दहरु लेखेका थिए । कमलाले उजुरी गरेपछि प्रहरीले वीरबहादुर संलग्न रहेको पत्ता लगाएको हो । कमला र वीरबहादुरले २०७४ फागुनमा विवाह गरेका थिए । तर, विवाह भएको एक वर्षपछि जथाभावी पिट्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने कार्य गरेपछि आफू बेग्लै बस्न थालेको कमलाले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् ।
वीरबहादुरले भने कमला पछिल्लो २ वर्षदेखि आफूसँग बोल्न नचाहने, सम्पर्कमा आउन नचाहने, कोठाको सामानसमेत अन्तै सारेर सामाजिक सञ्जालमा ब्लक गरेर बसेकी थिइन् । त्यही कारण आवेगमा आएर आफूले नक्कली अकाउन्ट बनाइ चरित्र हत्या गर्न खोजेको वीरबहादुरले बताएका छन् ।
प्रहरीका अनुसार वीरबहादुरले श्रीमतीको नाममा टिकटक अकाउन्टसमेत बनाएर उनका भिडियोहरु अपलोड गरी त्यसमा आपत्तिजनक कमेन्टहरु गर्ने गरेका थिए । वीरबहादुरविरुद्ध ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरेर अदालतमा मुद्दा दायर भएको छ ।