पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट पारित भएको हो।
असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड कमको बजेट ल्याइएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट गण्डकीले ल्याएका थियो।
आगामी वर्षको कुल बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ। १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको हो।
यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ। यो कुल बजेटको ६०.५ प्रतिशत हो।
गण्डकी प्रदेश सरकारले पहिलो पटक आन्तरिक ऋण उठाउने तयारी गरेको छ। १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री आलेले जानकारी गराएका छन्।
बजेटको छलफलको क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३ पटकसम्म संसद अवरोध गरेको थियो। बजेटमा सत्तापक्षकै सांसदले असन्तुष्टि प्रकट गरे। मन्त्रीले आफ्ना योजनामा मात्रै बजेट हालेको भन्दै सत्तापक्षका सांसदले असन्तृष्टि जनाएका हुन्।
नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको उनीहरूको आरोप थियो। एमालेले बजेटमा निलोकोट हाबी भएको भन्दै विरोध जनाएको छ।