बझाङ: जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार यस मुद्दाका दुवै प्रतिवादीउपर कसुर कायम गर्दै सजाय निर्धारणका लागि पेसी तोकिएको हो।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि कसुर कायम हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ फागुन ०७६ मा हुलाक कार्यालय बझाङका प्रमुख रनबहादुर कडायत र नासु शिवराज उपाध्यायलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।
दुवै पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणपूर्वको प्रतिवेदन २७ असारभित्र पेस गर्न भनिएको छ भने २८ असारमा सजाय निर्धारण हुनेछ।
कडायतले एक करोड ७६ लाख चार हजार रुपैयाँभन्दा बढी सरकारी रकम व्यक्तिगत काममा प्रयोग गरेको इजलासको ठहर छ। उनले उक्त रकम सम्बन्धितहरूलाई फिर्ता गर्ने भनेर कबुल गरेको स्वीकार गरेका थिए।
यसैगरी, नासु उपाध्यायले एक करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ। दुवैजनालाई यस मुद्दामा तीन वर्षभन्दा बढी कैद सजाय हुने भएकाले दुवै पक्षका कानुन व्यवसायीसँग सजाय निर्धारणका लागि प्रतिवेदन माग गरिएको हो।
हुलाकका कार्यालय प्रमुख कडायत र नासु उपाध्याय मिलेर रजिस्टरमा जम्मा भएको देखाउने, तर सर्वसाधारणले जम्मा गर्न ल्याएको रकम निजी प्रयोगमा खर्च गर्ने गरेका थिए।
यस क्रममा एक हजार सात सय एकजनाको बचत हिनामिना भएको थियो। दुवैजना मिलेर चार करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।
कार्यालय प्रमुख कडायतलाई दुई करोड ९४ लाख ८९ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरिएको थियो। नायव सुब्बा उपाध्यायमाथि भने अख्तियारले दुई करोड २४ हजार रुपैयाँको बिगो माग दाबी गरेको थियो।