एजेन्सी: भारतका विभिन्न राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षाले सात सय वटाभन्दा धेरै सडक बन्द रहेका छन् ।
हिमाचल प्रदेशमा पहिरो र बाढीका कारण आज आइतवार पाँच जनाको ज्यान गएको छ । बाढीले सिमला, मनाली, कुल्लु, किन्नौर र चम्बामा दर्जनौँ पसल र गाडी बगाएको भिडियो सार्वजनिक भएको छ । बाढीले राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ । केही व्यक्तिले आफ्नो जीवनकालमा यति ठूलो वर्षा र बाढी कहिल्यै नदेखेको बताएका छन् । प्रशासनले दुई दिन विद्यालय र कलेज बन्द गर्न आदेश दिएको छ ।
यस्तै पर्यटक तथा स्थानीय बासिन्दालाई यात्रा नगर्न र नदी नजिक नजान अपिल गरिएको छ । मौसम विभागले हिमाचल प्रदेशका १२ मध्ये १० वटा जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । धेरै ठाउँमा २४ घण्टामा दुई सय चार मिलिमिटरभन्दा धेरै वर्षा हुने अनुमान छ । हिजो शनिवारमात्रै भारतको राजधानी नयाँ दिल्लीमा २० वर्षयताकै ठूलो वर्षा भएको थियो । हिजो बिहानदेखि बेलुकासम्म भएको वर्षाले २० वर्ष पुरानो ुरेकर्डु तोडेको बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच भारतका केही राज्यमा अबको तीन दिन मुसलधारे वर्षाको चेतावनी जारी भएको छ । मौसम पूर्वानुमान विभागले आजका लागि पहेँलो चेतावनी जारी गरेको छ । हरियाणा, हिमाचल प्रदेश, उत्तराखण्ड, राजस्थान, पञ्जाब र जम्मु काश्मिरमा मुसलधारे पानी पर्ने विभागको भनाइ छ ।