धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । त्यस पछि अहिले सम्म बैठक बस्न सकेको थिएन । बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज साझ ४ बजे संसद् बोलाउने सहमति भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
आजको बैठकमा असार ५ गते दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्रीको घटना प्रति शोक प्रस्ताव पारित गरिने छ । त्यस लगत्तै बैठक सकिने छ ।
बजेट माथिको छलफलका बिषयमा भने अझै दलहरूबीच सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनकै दलहरू बिच बजेटमा विरोध भएपछि प्रदेश सभा बैठकमा छलफल हुन नसकेको हो ।
आज बैठक सकिएपछि अर्को बैठक बोलाउने बिषयमा भने अझै सहमति भएको छैन । आगामी ७ दिन भित्र बजेट पारित गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्ता गठबन्धन भित्रै बजेट पारित गर्ने बिषयमा एक कम भइसकेको छैन ।