बैतडी: बैतडीको गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप सञ्चालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएको विद्यार्थी नेता तिलक मालले बताए ।
क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको मागअनुरुप अघि बढ्ने आश्वासन दिएका बताइएको छ ।