डडेल्धुरा: आफूमाथि न्याय नभएको भन्दै आवाज उठाउने सशस्त्रका सहायक निरीक्षक(असई) लाई झनै अन्याय भएको छ। सशस्त्र प्रहरी बल नम्बर ४३ रिजर्भ गण बनबेहडा दरबन्दी भइ हाल अत्तरिया बाहिनीमा कार्यरत असई बिजय बोगटी अहिले कारबाही भोगिरहेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-६ घर भएका बोगटीले केही समयअघि सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परिक्षा उत्तीर्ण गरेका थिए। लोकसेवाको कठिनतम् परीक्षा पार गरिसकेपछि उनले काँधमा ‘क्रस खुँडा’ भिरेको सपना देखे। तर, आन्तरिक परिक्षा (जीटीओ टिओ) गर्ने नाममा आफूलाई फालिएको उनको गुनासो थियो। सोही गुनासो सामाजिक संजालमा राख्दा उनी कारबाहीको भागेदार बन्नुपर्यो। अहिले उनी असई छानवीनका लागि हेडक्वार्टर तानिएका छन्।
इन्स्पेक्टर उत्तीर्ण हुने र फेरि अनुत्तीर्ण गराइने उनै असईका कारण सशस्त्रभित्र पूर्व र सुदूरपश्चिमका नाममा मानिसमाथि विभेद हुने गरेको चर्चा छ। स्रोतका अनुसार संगठनका भूपूडिआइजीहरु राजेन्द्र बस्नेत र बाबुराम पाण्डेहरुले आन्तरिक परीक्षणका नाममा उनलाई फालेको बताइन्छ। बोगटीले तिनै कुरा लेखेर फेसबुकमा भडास पोख्दा विभिन्न प्रसंगलाई आधार मान्दै अहिले उनीमाथि छानबिन चलिरहेको छ।
तर, हालै जारी भएको सशस्त्र प्रहरीको कार्यविधि अनुसार अधिकारीहरुले सामाजिक संजालमा केही लेख्न नपाउने नियम छ। सोही अनुसार असई बिजय बोगटीलाई कारबाही भएको बताइन्छ।
सशस्त्र प्रहरी हेडक्वाटरका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बोगटीले आचरण र फौजी नियम पालना नगरेको बताए।इन्सपेक्टरको परिक्षामा फेल भएपछि काठमाडौंमै बसेर बोगटीले जथाभावी सामाजिक संजालमा लेखेको पाइएपछि हेडक्वाटर तानेको उनले बताए।
बोगटीलाई अब रेकर्डमा नजनिने गरि चेतावनी दिने वा रेकर्डमा जनिने गरेर कारबाही हुनसक्ने डिएसपी थापाले जानकारी दिए।