काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर स्थानीयले प्रहरीलाई गराएका छन् ।
लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदै छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ। नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले बताए । दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना नेपाली पाइलट सवार थिए।