धनगढीः जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई यातना दिएको पाइएको छ। कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो।
घटना गत मंगलबार साँझको हो। बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ। हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए।
उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए। सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए। एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे।
प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए।