कैलाली– आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीका गठबन्धन दलले पालिकाको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन् । धनगढीमा आइतबार बसेको बैठकमा दलहरुले पालिकाको नेतृत्वमा दाबी प्रस्तुत गरेका हुन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्लाका पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको नेपाली काँग्रेस कैलालीका सचिज केशव मिश्रले बताए । उनका अनुसार एकीकृत समाजबादीले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।
यसैगरि नेकपा माओवादी केन्द्रले काँग्रेसको माग दाबीका आधारमा आफूहरुले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको सचिव मिश्रले बताए । यद्यपी माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह नछोड्ने दाबी गरेको छ ।
नेकपा एसले पाँच र माओबादीले काँग्रेसको बाटो हेरिरहँदा नेपाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहमा आफनो दाबी गर्ने तयारी गरेको छ । यद्यपि जिल्लाका सबै पालिका तहमा प्रक्षेपण गरेर निर्णय लिइने सचिव मिश्रले बताए । यसबारेमा काँग्रेसले थप निर्णय गर्ने उनले बताए । उनका अनुसार काँग्रेसको बैठक यही चैत्र ३० गते बस्दैछ । यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा कुनै दाबी गरेका छैनन ।
यसैगरि बैठकमा दलहरुबीच स्थानीय तहको निर्वाचनमा पार्टीको प्रभावलगायतका आधारमा गठबन्धन गर्ने सहमति भएको छ । निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति भएको नेपाली काँग्रेस सचिव मिश्रले बताए । उनका अनुसार दलहरुबीच वडातहदेखि नै जिल्लाका १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको छ ।